Monday, July 29, 2013

आज......

अधीर छु आज
मनमा केही गर्लम्म बज्रे जस्तो
हृदयमा केही गर्हुङ्गो झुन्डिए जस्तो
त्यसै त्यसै गलिरहेछु,
धुईं-धुईं बिसौनी खोजिरहेछु ।

डराएको छु आज,
दौडमै नभइ कसैले ऊछिन्ने डर,
युद्धमै नभइ कसैबाट रेटिने डर,
त्यसै त्यसै काँपिरहेछु,
अन्तरकुन्तरमा आँट खोजिरहेछु ।।

झुक्किएको छु आज,
उषाको उल्लास र सन्ध्याको अत्यासमा,
मालश्रीको ताल र ताण्डवको डमडममा,
त्यसै त्यसै रङ्बङ्गिरहेछु,
वृत्तमा आदि-अन्त खोजिरहेछु ।।।


अधीर, त्रसित, भ्रमित छु म आज...... 

Saturday, June 29, 2013

झरी

धुम्म फुलेका बादलहरुलाई
गलाऊँदै, छिन्न भिन्न पार्दै
वर्षिने ए झरी
अनिश्चयरुपी मेरा आँखाका
वादल पनि फटाइ दे ।

खडेरिमा नाङ्गिएका खोल्साखोल्सीलाई
नुहाइदिँदै, भेलको पछ्यौरा ओढाइदिँदै
दोभानको बाटो देखाउने ए झरी
भ्रमरूपी मेरा मष्तिष्कका
जालो पनि च्यातिदे ।।

पटपट चिरिएका गराहरुलाई
भिजाऊँदै, आलीको ठेकीमा मथ्दै
हिलोमा लट्पटाउने ए झरी
ध्वासोरुपी मेरा मनका
तुष पनि पखालिदे ।।।

पहेँलिएका धानका मुनाहरुलाई
बिऊंताऊँदै, रोपारका हातमा नचाऊँदै
असारे भाका घन्काउने ए झरी
त्रिष्णारुपी मेरा मनका
जलन पनि चिस्याइदे ।।।।

Monday, June 24, 2013

Fears!!!


Fears are engulfing me
As I prepare to embark to this strange land,
Fear to be plunged in materialism
Fear to be dropped dead spiritually
Fear to be doused in hypocrisy
Fear to be distanced from real me

Fears are engulfing me
If I fail to be one of them,
Fear to be denounced a discord in symphony
Fear to be despised as a laggard
Fear to be pictured a disgust
Fear to be termed a brash

Fears are engulfing me
If I then retreat to myself,
Fear to be alienated in herd of strangers
Fear to be neglected and notched away
Fear to be the blind spot in their eyes
Fear to be forgotten and labeled nonexistent!


Fears are constantly engulfing me…..

Thursday, June 20, 2013

खै कुन साँझ मदमस्त भनुँ

खै कुन साँझ मदमस्त भनुँ
धिक्कारेकै छु आफ्ना हुन नसकेकालाई
सरापेकै छु नजिकिन खोज्ने ढोगींहरुलाई
पिऊँदिन भन्छु, सुरो भइ सम्हाल्छु भन्छु,
तैपनि दुइ पेग घुट्काएकै छु,
फगत एक्लो हुनुको पीडा पचाएकै छु।

खै कुन साँझ मदमस्त भनुँ
अतीतका खोली- काप्चा कोतरेकै छु
ओल्टाइ पल्टाइ लत्याइँदाको खाटो कोट्याएकै छु
पिऊँदिन भन्छु, छाती ढुङ्गो बनाऊँछु भन्छु
तैपनि दुइ पेग घुट्काएकै छु,
सुराको मदमा बिलाउने प्रयत्न गरेकै छु।

खै कुन साँझ मदमस्त भनुँ
तिम्रा वाचा आँखा अघि नचाएकै छु
बिऊँझै हाम्रा सपनामा डुबेकै छु
पिऊँदिन भन्छु, कठ्याङ्ग्रिंदो जाडोमा सपना देख्दिन भन्छु
तैपनि दुइ पेग घुट्काएकै छु,
सपनामै विपना खोज्ने निरर्थक प्रयास गरेकै छु।

खै कुन साँझ मदमस्त भनुँ
सुदुर पर हाम्रा गोरेटो छुट्टिएको बुझेकै छु
यद्धपी पाले सरि ढोका कुरेकै छु
पिऊन्न भन्छु, ढोका टालीदिन्छु भन्छु,
तैपनि दुइ पेग घुट्काएकै छु,
फेर्ने सासमा तिमी छौ, बिर्सन खोजेकै छु
खै कुन साँझ मदमस्त भनुँ........


Friday, June 14, 2013

ती छरपस्ट पानीका थोपाहरु

सनै सनै हावामा लहरिरहेछन पानीका थोपाहरु
कहिले दायां भगाइन्छन् त कहिले वायां
मिलन र बिछोड चलिरहन्छ थोपा-थोपाको  बीच
तर हावा मच्चाइ रहेछ, मच्चाइ रहेछ
आफ्नै सुरमा, आफ्नै तालमा
ती छरपस्ट पानीका थोपाहरु ।

"तिमी वतासको फोहोर पखालेको छु,
जेन तेन बोकेको छु तिम्रा मैला थोपा थोपामा,
यो बोझ छिटो धर्तीमा बिसाउन देऊ"
हावा सुन्दैन - कान टालेर बसेको छ
ह्विंकाइरहेछ, ह्विंकाइरहेछ
आफ्नै वेगमा, आफ्नै सुसेलीमा
ती छरपस्ट पानीका थोपाहरु ।।

"मलाई कुर्दा कुर्दै सुकिेसके  मकैका बोटहरु
ओइलाईसके कांक्रा र फर्सीका फुलहरु
मलाइ यहीं बारीको डिलमा बर्सन देउ"
हावा देख्दैन - आंखा छोपेर बसेको छ
रिङ्गाइरहेछ, रिङ्गाइरहेछ
आफ्नै स्वार्थमा, आफ्नै  दिशामा
ती छरपस्ट पानीका थोपाहरु ।।।

Tuesday, May 14, 2013

Bursting Hopes


That thirsty day
A watery sphere
A tiny watery sphere
Dropped out of nowhere.
Brought hopes;
Hopes of golden paddy,
Hopes of lush greenery,
Hopes of blossoming cherry.
But alas
That sphere turned to be nothing
But an empty bubble,
Descended slowly open the soil
Burst in a second
Reeking nothing but a foul odor!