Friday, June 14, 2013

ती छरपस्ट पानीका थोपाहरु

सनै सनै हावामा लहरिरहेछन पानीका थोपाहरु
कहिले दायां भगाइन्छन् त कहिले वायां
मिलन र बिछोड चलिरहन्छ थोपा-थोपाको  बीच
तर हावा मच्चाइ रहेछ, मच्चाइ रहेछ
आफ्नै सुरमा, आफ्नै तालमा
ती छरपस्ट पानीका थोपाहरु ।

"तिमी वतासको फोहोर पखालेको छु,
जेन तेन बोकेको छु तिम्रा मैला थोपा थोपामा,
यो बोझ छिटो धर्तीमा बिसाउन देऊ"
हावा सुन्दैन - कान टालेर बसेको छ
ह्विंकाइरहेछ, ह्विंकाइरहेछ
आफ्नै वेगमा, आफ्नै सुसेलीमा
ती छरपस्ट पानीका थोपाहरु ।।

"मलाई कुर्दा कुर्दै सुकिेसके  मकैका बोटहरु
ओइलाईसके कांक्रा र फर्सीका फुलहरु
मलाइ यहीं बारीको डिलमा बर्सन देउ"
हावा देख्दैन - आंखा छोपेर बसेको छ
रिङ्गाइरहेछ, रिङ्गाइरहेछ
आफ्नै स्वार्थमा, आफ्नै  दिशामा
ती छरपस्ट पानीका थोपाहरु ।।।

2 comments: