Thursday, June 20, 2013

खै कुन साँझ मदमस्त भनुँ

खै कुन साँझ मदमस्त भनुँ
धिक्कारेकै छु आफ्ना हुन नसकेकालाई
सरापेकै छु नजिकिन खोज्ने ढोगींहरुलाई
पिऊँदिन भन्छु, सुरो भइ सम्हाल्छु भन्छु,
तैपनि दुइ पेग घुट्काएकै छु,
फगत एक्लो हुनुको पीडा पचाएकै छु।

खै कुन साँझ मदमस्त भनुँ
अतीतका खोली- काप्चा कोतरेकै छु
ओल्टाइ पल्टाइ लत्याइँदाको खाटो कोट्याएकै छु
पिऊँदिन भन्छु, छाती ढुङ्गो बनाऊँछु भन्छु
तैपनि दुइ पेग घुट्काएकै छु,
सुराको मदमा बिलाउने प्रयत्न गरेकै छु।

खै कुन साँझ मदमस्त भनुँ
तिम्रा वाचा आँखा अघि नचाएकै छु
बिऊँझै हाम्रा सपनामा डुबेकै छु
पिऊँदिन भन्छु, कठ्याङ्ग्रिंदो जाडोमा सपना देख्दिन भन्छु
तैपनि दुइ पेग घुट्काएकै छु,
सपनामै विपना खोज्ने निरर्थक प्रयास गरेकै छु।

खै कुन साँझ मदमस्त भनुँ
सुदुर पर हाम्रा गोरेटो छुट्टिएको बुझेकै छु
यद्धपी पाले सरि ढोका कुरेकै छु
पिऊन्न भन्छु, ढोका टालीदिन्छु भन्छु,
तैपनि दुइ पेग घुट्काएकै छु,
फेर्ने सासमा तिमी छौ, बिर्सन खोजेकै छु
खै कुन साँझ मदमस्त भनुँ........


1 comment:

  1. किन हो किन अन्तिम हरफमा मन गयो।

    ReplyDelete