धुम्म फुलेका
बादलहरुलाई
गलाऊँदै, छिन्न
भिन्न पार्दै
वर्षिने ए झरी
अनिश्चयरुपी मेरा
आँखाका
वादल पनि फटाइ दे ।
खडेरिमा नाङ्गिएका
खोल्साखोल्सीलाई
नुहाइदिँदै, भेलको
पछ्यौरा ओढाइदिँदै
दोभानको बाटो
देखाउने ए झरी
भ्रमरूपी मेरा मष्तिष्कका
जालो पनि च्यातिदे ।।
पटपट चिरिएका
गराहरुलाई
भिजाऊँदै, आलीको
ठेकीमा मथ्दै
हिलोमा लट्पटाउने ए
झरी
ध्वासोरुपी मेरा
मनका
तुष पनि पखालिदे ।।।
पहेँलिएका धानका मुनाहरुलाई
बिऊंताऊँदै, रोपारका
हातमा नचाऊँदै
असारे भाका घन्काउने
ए झरी
त्रिष्णारुपी मेरा
मनका
जलन पनि चिस्याइदे ।।।।
No comments:
Post a Comment