Thursday, February 6, 2014

हिऊं र म














शिशिरको यो जाडो दिनमा,
ती कलिेला दुबोका मुनाहरुलाई,
कक्रक्क परेका रूखका हांगाहरुलाई,
न्यानो पार्न खोजेझैं- गम्लङ्ग अंगालो हालिरहेछ,
मध्यान्नको घामजस्तो सेतो हिऊं,
म झ्यालमा बसि मुसुमुसु हांसिरहेछु ।

बाहिर निस्कन्छु,
ती लेऊले ढाकेका पर्खाललाई,
ती खियाले कुरुप बत्तीका खम्बालाई,
आफुजस्तो ँचहकिलो बनाऊन लपक्क टांसिइरहेछ,
सिमलको भुवाजस्तो सेतो हिऊं,
म फुटपातमा ऊभिएर दङ्ग परिरेहछु ।।

पाइला बढाऊंछु,
ती चिसोले कांपिरहेका बटुवालाई,
बेतोडले दौडिरहेका मोटर-गाडिलाई,
बाटोमै रोक्न, कदम कदममा पसारिइरहेछ,
उन्मत्त हात्तीका दाराजस्तो सेतो हिऊं,
म जेब्रा क्रसिङ्मा रोकिइ मस्त हरिरहेछु ।।।

गन्तव्य नजिकै पुग्छु,
बेफुर्सदले बगिरहेको त्यो सडकको कुलेसोलाइ,
आकाश छुन छछल्किरहेको त्यो फोहोरालाइ,
सुस्ताऊन, संगै लडिबुडी खेल्न फकाइरहेछ,
शरदको बादल जस्तो सेतो हिऊं,
म हिऊं र आफ्नै क्षणिकता तुलाना गर्दै गमक्क परिरहेछु ।।।।